काठमाडौं।आज विश्व क्षयरोग दिवस । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्न सक्ने क्षयरोगबारे जनचेतनामूलक कार्यक्रम गरी यो दिवस नेपालमा पनि यो दिवस मनाइँदै छ । क्षयरोग रोकथाम र बिरामीलाई सहजै उपचार गर्ने सरकारी प्रयास भने अझै सफल हुन सकेको छैन ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा ३७ हजार भन्दा बढी क्षयरोगका बिरामी थपिएका छन् । आर्थिक वर्ष २०७८-७९ मा मात्रै ३७ हजार ८६१ जना क्षयरोगका बिरामी थपिएको तथ्याङ्क केन्द्रले सार्वजनिक गरेको हो । गत वर्षको तुलनामा यस आर्थिक वर्ष १० हजार बढी नयाँ बिरामी पत्ता लागेका हुन् ।
ती मध्ये पुरुष ६१.६ प्रतिशत र महिला ३८.४ प्रतिशत छन् भने करिब ८.७ प्रतिशत १५ वर्ष मुनिका बालबालिकाहरू क्षयरोगबाट ग्रसित छन् । यी मध्ये ९१.५ प्रतिशत क्षयरोगका बिरामीको उपचार पश्चात् निको भएको बताइएको छ ।
हरेक वर्ष क्षयरोगका बिरामी बढे पनि नेपालमा स्वास्थ्य संस्था र उपचारको अवस्था सुधार हुन सकेको छैन । नेपालगन्जमा क्षयरोगीका लागि अस्पताल बनाउने सरकारको योजना पनि अपूरै छ । जसले गर्दा जटिल अवस्थाका क्षयरोगका बिरामीले अस्पतालमै बसेर उपचार सेवा पाउन सकेका छैनन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामीलाई सेवा दिने गरी बनाउन लक्ष्य राखिएको अस्पताल निर्माणका काम पनि अघि बढ्न सकेको छैन ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay