Wednesday Sep 09, 2026


ए डिभिजन लिग : विभागीय डर्बीमा आर्मीविरुद्ध एपीएफ विजयी

Image
१ चैत २०७९, बुधवार
Avatar
खेलकूद ब्युरो

काठमाडौं : मणी कुमार लामाको निर्णायक गोलप्रेरित सशस्त्र प्रहरीको एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार त्रिभुवन आर्मी क्लबलाई १–० को नतिजामा पराजित गरेको छ। च्यासल रंगशालामा भएको खेलको ३७औं मिनेटमा मणीले गरेको एक मात्र गोल निर्णायक बन्यो।



दायाँतर्फबाट बिपन कार्कीले गरेको क्रसलाई पेनाल्टी एरियाभित्र अन्मार्क्ड रहेका मणीले उत्कृष्ट गोलमा परिणत गरेका थिए। मणीले प्रहार गरेको सशक्त हाफ भलीमा आर्मीका गोलकिपर विकेश कुथु निरीह बनेका थिए।


एपीएफका नवीन लामाले १२औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा सनिश श्रेष्ठको हेडर बाहिरिएको थियो। त्यसको दुई मिनेट नबित्दै आर्मीका दिनेश हेन्जनको क्रसमा नवयुग श्रेष्ठले ६ यार्ड नजिक बल भेट्टाउन नसक्दा आर्मीले गोल गर्ने मौका गुमाएको थियो।


दिनेशले २०औं मिनेटमा प्रहार गरेको कर्नरमा आर्मीका डिफेन्डर विकाश खवासको प्रहार फ्रेममा परेको थिएन। सुरुआती ३५ मिनेटसम्म एपीएफलाई दबाबमा राखेको आर्मीले २९औं मिनेटमा अर्को अवसर सिर्जना गरेको थियो।


दिनेशले बायाँतर्फबाट गरेको तेस्रो सशक्त क्रसमा एपीएफका गोलकिपर एन्जल श्रेष्ठले नियन्त्रण गुमाएका थिए। यद्यपि, एपीएफका डिफेन्डरले घेरिएका नवयुग श्रेष्ठले फाइदा उठाउन सकेका थिएनन्।


पहिलो हाफको खेलसकिन आठ मिनेट बाँकी रहँदा गोल खाएको आर्मीले ४१औं मिनेटमा अर्को खतरा टारेको थियो। एपीएफका शरन विक्रमसिंह बस्नेतले गरेको प्रहार आर्मीका सेन्टर ब्याक विकाश खवासले रोकेका थिए।


आर्मीका कप्तान भरत खवासले ७७औं मिनेटमा दायाँतर्फबाट गरेको क्रसलाई एपीएफका सनिश श्रेष्ठले हेडरमार्फत क्लियर गरेका थिए।


जितसँगै एपीएफले पाँच खेलबाट आठ अंक जोडेको छ। पराजित आर्मीको समान पाँच खेलबाट ६ अंक छ। आजै दशरथ रंगशालामा हुने अर्को खेलमा न्यूरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लब आमनेसामने हुँदैछन्।

Advertisement

सम्बन्धित खबर