Tuesday Apr 21, 2026


अनिश्चितताको भुमरीबाट उठेको नेपाली क्रिकेट: कस्तो छ भविश्य ?

Image
४ चैत २०७९, शनिवार
Avatar
खेलकूद ब्युरो

नेपालले फागुन २ मा नामिबियासँग आइसिसी विश्वकप लिग-२ को आफ्नो २५ औं खेल खेल्नुअघि अंक तालिकामा शीर्ष पाँचमा पर्न धेरै कठिन देखिन्थ्यो । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन नेपालले बाँकी १२ मध्य ९ खेल जित्नुपर्ने थियो । अझ शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुग्न १२ मध्य ११ खेल जित्नुपर्ने थियो ।



त्यो समय सोझै विश्वकप छनोट कल्पना बाहिर थियो । शीर्ष पाँचमा पर्दै ओडिआई जोगाउन नै धेरै कठिन देखिन्थ्यो । त्यसैले सबैको ध्यान ओडिआई मान्यता जोगाउनुपर्छ भन्ने थियो । त्यसबेला नेपाल अंक तालिकामा २४ खेलमा ८ मा जित, एक खेल रद्ध, एक खेल टाई र १४ खेलमा हारसहित १८ अंकका साथ छैटौं स्थानमा थियो ।


नेपालले यसअघि तीन वर्ष जुन किसिमको प्रदर्शन गरेको थियो त्यसलाई आधार मान्दा ओडिआई बचाउन सम्भव देखिएको थिएन । नेपाली क्रिकेटको भविष्य नै अनिश्चित थियो । तर त्यसको ठ्याक्कै एक महिनापछि नेपालले ओडिआई मान्यता मात्र जोगाएन, सोझै विश्वकप छनोटमा स्थान बनायो ।


नेपालले १२ मध्य ११ खेल जित्दै अविश्वसनीय यात्रा तय गर्यो । ३६ खेलमा नेपालले १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ शीर्ष तीनमा स्थान अन्त्य गर्यो ।


नेपालले खेलेका पछिल्ला १२ मध्य एक खेल मात्रै हार्यो । त्यो हार दुई साता अघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा थियो । घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको थियो । त्यसपछि नेपालले हारको सामना गर्नु परेन । सुरुवात नै नेपालको दमदार रह्यो । पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २ सय ८६ रनको विशाल लक्ष्य दिएको थियो ।



नेपालले कुशल भुर्तेलको १ सय १५ रनको शतकीय र रोहित पौडेलको ७२ रनको सहयोगमा ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जुन नेपालले आफ्नो ओडिआई इतिहासमा पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य थियो । त्यसअघि नेपालले २०१९ मा युएईविरुद्ध २ सय ५५ रनको लक्ष्य पूरा गरेको थियो ।


लिग-२ को अन्तिम खेलमा नेपालले ३ सय ११ रनको लक्ष्य पछ्याउनेक्रममा ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खराब प्रकाशको कारण खेल रोकिएपछि डकवर्थ लेविस स्टर्न पद्दतिको नियम अनुसार नेपाल ९ रनले विजयी भयो ।

पछिल्ला १२ खेलमा नेपालले जादुमयी प्रदर्शन गर्यो । यसको मुख्य श्रेय मुख्य प्रशिक्षक मोन्टी देशाईलाई जान्छ । मोन्टी र खेलाडीको उत्कृष्ट योगदानमा नेपालले असम्भव मानिएको सफलता हात पार्यो ।


तीन वर्ष वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको भूमिका सकाएर मोन्टी नेपालको सिरिज सुरु हुनुभन्दा तीन साता अघि मात्रै नेपाल आएका थिए । मोन्टी माघ १४ मा नेपाल आइपुगेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिन ढिलो गर्दा औपचारिक रुपमा माघ २३ मा मात्रै नियुक्त भएका थिए । तर मोन्टीले प्रशिक्षण भने नेपाल आएको अर्को दिन नै सुरु गरेका थिए ।



पहिलो दिन नै मोन्टीले शरद भेषावकर, विनोद भण्डारीसहित केहि खेलाडीको फिटनेस परिक्षण गरेका थिए । प्रमुख बलर र ब्याटरलाई नेटमा हेरेका थिए । त्यहाँबाट यात्रा सुरु गरेका मोन्टीले अप्रत्यासहित नतिजा दिलाए । मोन्टीले खेलाडीमा दिलाएको विश्वास र सकरात्मक सोच नै सफलताको मुख्य कडी रह्यो ।


मोन्टीले आगमनसँगै टोलीमा अभियान चलाए, ‘ह्याप्पी ड्रेसिङ रुम’ र ‘वन बल ब्याटल’ । ह्याप्पी ड्रेसिङ रुम अर्थात् खुसीले भरिएको टिम तथा ‘वन बल ब्याटल’ अर्थात् हरेक बलको युद्ध । त्यसै अनुसार खेलाडीले पनि काम गरे । टोलीका भएका नकरात्मक पक्षलाई अन्त्य गरे ।


अनिश्चितताको बीचमा मोन्टी खुकुरीको धारमा हिँड्न तयार भएर नेपाल आएका थिए । खुकुरीको धार हुँदै रातो कार्पेट सम्मको यात्रा तय गरे ।


मोन्टी नेपाल आउँदा अंक तालिकामा ओडिआई मान्यता जोगाउन कठिन त थियो नै, टोलीको अवस्था पनि कमजोर थियो । मनोज प्रभाकरले टोलीको ब्याटिङ क्रम निकै भद्रगोल बनाएका थिए । टिम अस्तव्यस्त थियो । मोन्टीले सुरुवातमै टोलीको ब्याटिङ क्रम एकरुपता दिँदै विश्वास दिलाए ।



नेपालको क्रिकेट इतिहास हेर्दा ब्याटिङ सबैभन्दा ठूलो समस्या हो । मोन्टीले पनि ब्याटिङमै काम गरे । टोलीमा ७ ब्याटर मैदान उतारे । मोन्टीले केहि जोखिम पनि लिए । कुशल मल्ललाई माथिल्लोक्रममा खेलाउँदा दीपेन्द्रसिंह ऐरीलाई फिनिसरमा झारे । नेपालले सुरुवाती तीन खेलमा लगातार २ सय ७० माथिको योगफल पुरा गर्यो ।


अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ६१–५ को अवस्थाबाट रोहित पौडेलले ९५ रनको एक यादगार इनिङ खेले । नेपालले पहिलो पटक लिग २ मा चार खेलमा चार नै जित्यो । एसोसियटका बलिया टोली स्कटल्यान्ड र नामिबियालाई सबै खेलमा हराएपछि मनोबल झनै बढ्यो ।


त्यस लगत्तै युएई पुगेको नेपालले पपुवा न्युगिनीलाई दुई र युएईलाई एक खेलमा हरायो । एक खेलमा हार्यो । तर नेपाल खासै दुःखी थिएन । त्यसै दिन यू१९ टोलीले युएईलाई हराउँदै सोझै विश्वकप स्थान बनाएको थियो । त्यसपछि घरेलु मैदानमा नेपालले पपुवा न्युगिनी र युएई दुवैलाई हराउँदै सोझै विश्वकप छनोटमा स्थान बनायो । मोन्टीले हरेक दिन पिच कन्डिसन अनुसार खेलाडी फेरबदल गरेका थिए ।



पछिल्लो एक महिना साँच्चै नेपाली क्रिकेटको लागि एक जादुमयी प्रदर्शन रह्यो । सबैले आशा मारेको सोझै विश्वकप छनोट र ओडिआई मान्यता सोझै प्राप्त गर्यो ।


खेलाडीको सानदार प्रदर्शन


मोन्टीसँगै खेलाडीले पनि सानदार प्रदर्शन गरे । हरेक खेलमा नयाँ नयाँ म्याच विनर आए । कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेखले सानदार प्रदर्शन गरे । बलिङमा सन्दीप लामिछानेको प्रदर्शन अझ महत्त्वपूर्ण रह्यो । दीपेन्द्र, ललितनारायण राजवंशी, सोमपाल कामी र करणले पनि महत्त्वपूर्ण भूमिका खेले ।


खेलाडीले जिम्मेवारीका साथ सानदार प्रदर्शन गरे । ओडिआई महत्वलाई राम्रोसँग बुझे । नतिजा आफ्नो पक्षमा आयो । फरक खेलमा फरक खेलाडी चल्दा नतिजा आउन सफल भयो । नेपाल एकै खेलाडीमा निर्भर रहेन । ब्याटिङमा अत्याधिक डट बललाई कम गरे ।


घरेलु मैदान, कन्डिसन र दर्शकको साथ


नेपालले सानदार प्रदर्शन गर्नुमा घरेलु मैदान, कन्डिसन र दर्शकको साथ अझ महत्वपूर्ण रह्यो । टियुमा नेपालले खेलेका ८ मा ८ नै खेल जित्यो । दुबईमा चार मध्य तीन खेलमा जित हात पार्यो । घरेलु मैदान र दर्शकको नेपालले भरपूर्ण फाइदा उठायो । दुबईमा पनि नेपाली दर्शकको राम्रो साथ दिएका थिए ।



भाग्यको साथ


क्रिकेटमा राम्रो खेलेर मात्रै हुँदैन । कुहिले काहिँ भाग्यले पनि साथ दिनुपर्छ । यस पटक नेपाललाई भाग्यले पनि राम्रो साथ दियो । कप्तान रोहित पौडेलले १२ मध्य ८ खेलमा टस जिते । नामिबिया र स्कटल्यान्डविरुद्ध चारै खेलमा टस जितेका थिए । युएई भ्रमणमा रोहितले चार मध्य तीन खेलमा टस जिते । उनले पपुवा न्युगिनीविरुद्ध टस हारेका थिए । अन्तिम चार खेल मध्य तीन खेलमा टस हारेका थिए । तर खेल नेपालले सबै जित्यो ।


सोमबार नेपालले पपुवा न्युगिनीलाई ९५ रनमा अल आउट गर्दै उक्त लक्ष्य ७.४ ओभरमा पूरा गर्यो । उक्त खेल सकिएको केहि समयपछि ठूलो वर्षा भएको थियो । पिएनजीलाई नेपालले २२.५ ओभरमा अल आउट गरेको थियो । पुरै खेल भएको अवस्थामा वर्षाले खेल रोकिँदा अंक बाँड्नु पर्ने थियो । अंक बाँड्दा जित प्रतिशतको साथ बाहिरिनु पर्ने हुन्थ्यो ।


तर नेपाललाई भाग्यले राम्रो साथ दियो । अन्तिम खेलमा नेपाल डकवर्थ लविस पद्धतिमा ४१ ओभर सम्म पछि थियो । ४२ औं ओभरमा नेपालले कुल २० रन जोडेको दुई ओभरपछि खेल नै रोकिन पुग्यो । यस पटक भाग्यले पनि नेपाललाई राम्रो साथ दियो ।



फेरिएको आत्माविश्वास र मनोबल


मोन्टीको आगमनसँग खेलाडीको आत्माविश्वास र मनोबल फेरिएको छ । खेलाडीमा जस्तो सुकै अवस्थामा पनि जिताउन सकिन्छ भन्ने सोच आएको छ । त्यहिँ नै जितको प्रमुख श्रेय हो । ३ सय ११ रनको लक्ष्य पछ्याउँदा होस् वा २ सय १३ । कुनैपनि खेलमा नेपालले कहिल्यै हार मानेको थिए । हामी गर्न सक्छौं भन्ने भावना आएको छ ।


त्यसैले नेपाल सफल भएको छ । यसअघि पनि नेपाली खेलाडीको क्षमतामा कुनै कमी थिएन । आत्माविश्वासको कमी रहँदै आएको थियो । त्यसलाई मोन्टीले सुधार गरे ।


साँच्चै हिम्मत नहार्ने हो भने असम्भव केहि छैन भन्ने राम्रो सन्देश दिएको छ । अनिश्चित भविष्यको अवस्थाबाट नेपालले आफू मात्रै होईन विश्वमै उत्कृष्ट पूनरागमनको उदाहरण प्रस्तुत गरेको छ । पछिल्लो एक महिना नेपाली क्रिकेटले साँच्चै जादुमयी प्रदर्शन गर्यो । यो पूनरागमन सधैंभर उदाहरणीय रुपमा रहनेछ ।

लिग-२ मा सर्वाधिक रन बनाउने पाँच नेपाली ब्याटर

नेपालले आइसिसी विश्वकप लिग–२ मा शीर्ष तीनमा रहँदै सोझै ओडिआई मान्यता बचाउनुको साथै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो । सुरुवाती २४ खेलमा नेपाली ब्याटरको राम्रो प्रदर्शन हुन सकेन । तर अन्तिम १२ खेलमा नेपाली ब्याटरले सानदार प्रदर्शन गरे ।



नेपाली ब्याटरको सानदार प्रदर्शनकै कारण १२ मध्य ११ खेल जित्दै नेपाल शीर्ष तीनमा पर्दै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पायो ।


लिग २ मा नेपाली ब्याटरले दुई शतक र कुल ३९ अर्धशतक प्रहार गरे । लिग २ मा नेपालको उच्च योगफल २ सय ९७ रह्यो । २०१९ देखि २०२३ सम्म चलेको लिग २ मा सर्वाधिक रन बनाउने पाँच नेपाली ब्याटर यस प्रकार छन् ।


५. ज्ञानेन्द्र मल्ल – ५ सय ७२ रन



नेपालका सर्वाधिक अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल लिग २ मा नेपालबाट सर्वाधिक रन बनाउने पाँचौं ब्याटर हुन् । ज्ञानेन्द्रले २४ खेलमा ५ अर्धशतकसहित ५४ चौका र १० छक्कासहित कुल ५ सय ७२ रन बनाए ।


ज्ञानेन्द्रले २०२० मा ओमानविरुद्ध ५६, २०२१ मा ओमानविरुद्ध ५२, अमेरिकाविरुद्ध ५५, नामिबियाविरुद्ध ७५ र नामिबियाविरुद्धनै ६५ रन जोडेका थिए ।


४.आरिफ शेख – ५ सय ९५ रन



मध्यक्रमका भरपर्दा ब्याटर आरिफ शेखले लिग २ मा उत्कृष्ट प्रदर्शन गरे । नेपालको तल्लोक्रम धानेका आरिफले २९ खेलमा ५ अर्धशतकसहित ३४ चौका र २ छक्कासहित कुल ५ सय ९५ रन बनाए ।


आरिफले पपुवा न्युगिनीविरुद्ध २०२२ मा ५९, ओमानविरुद्ध ६६, अमेरिकाविरुद्ध ६३, नामिबियाविरुद्ध ५० र युएईविरुद्ध अन्तिम खेलमा आरिफले ५२ रन जोडेका थिए ।


३. कुशल भुर्तेल- ६ सय ८१




युवा ओपनर कुशल भुर्तेल नेपालबाट लिग २ मा शतक हान्ने पहिलो खेलाडी हुन् । कुशलले २९ खेलमा १ शतक र ५ अर्धशतकसहित ६१ चौका र १७ छक्कासहित कुल ६ सय ८१ रन बनाए ।


कुशलले नामिबियाले दिएको २ सय ८६ रनको विशाल विजयी लक्ष्य पूरा गर्नेक्रममा १ सय १५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अन्तिम खेलमा युएईविरुद्ध ५० रन जोडेका थिए । ओमानमा २०२१ मा कुशलले अमेरिकाविरुद्ध ८४, पपुवा न्युगिनीविरुद्ध २०२२ मा ५०, ओमानविरुद्ध र पपुवा न्युगिनीविरुद्ध ५६–५६ रन जोडेका थिए ।


२. रोहित पौडेल– ९ सय ९ रन



नेपालका कप्तान रोहित पौडेलको प्रदर्शन लिग २ मा सानदार रह्यो । रोहितले ३३ खेलमा ६ अर्धशतकसहित कुल ९ सय ९ रन बनाए । जसमा ७४ चौका र १६ छक्का सामेल रह्यो ।


अघिल्लो महिना स्कटल्यान्डविरुद्ध नेपाललाई जिताउन ९५ रनको इनिङ सवैभन्दा उत्कृष्ट रह्यो । २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ६१-५ को दयनीय अवस्थाबाट रोहितले सानदार प्रदर्शन गरेका थिए ।


रोहितले २०२१ मा अमेरिकाविरुद्ध ६२, २०२२ मा पपुवा न्युगिनीविरुद्ध ६०, अमेरिकाविरुद्ध ६२, नामिबियाविरुद्ध ७२ र युएईविरुद्ध ७७ रन जोडेका थिए ।


१.आसिफ शेख – ९ सय ३४ रन



नेपालका ओपनर आसिफ शेख लिग २ मा सर्वाधिक रन बनाउने ब्याटर हुन् । आसिफले ३० खेलमा १ शतक र ७ अर्धशतकसहित कुल ९ सय ३४ रन बनाए ।


आसिफले दुई साता अघि पपुवा न्युगिनीविरुद्ध पहिलो खेलमा खेलमा टियु मैदान १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।


आसिफले २०२१ मा ओमानविरुद्ध ९०, २०२२ मा अमेरिकाविरुद्ध ६१, ओमानविरुद्ध ६२, स्कटल्यान्डविरुद्ध ७१, नामिबियाविरुद्ध ८१, पपुवा न्युगिनीविरुद्ध ८६ र ५३ रन बनाएका थिए ।

Advertisement

सम्बन्धित खबर