Tuesday Apr 21, 2026


महाकाली नदी किनारमा भारतले सहमति बिपरित तटबन्ध बनाउँदै

Image
२७ माघ २०७९, शुक्रवार
Avatar
उद्धवसिंह धामी

दार्चुला । दार्चुलाको महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको तटबन्ध संरचनाको संयुक्त स्थलगत निरीक्षण गरिएको छ । 

विहीबार दिउँसो दुबै देशका अधिकारीहरुले भारततर्फ निर्माणाधिन तटबन्ध संरचना, नदी किनारमा थुप्रिएको ढुंगामाटो र नदी किनार क्षेत्रको अवस्थाबारे अवलोकन तथा छलफल गरेका हुन् । पूर्वसहमति अनुसार दुबैतर्फ नदी किनारमा थुप्रिएको ढुंगामाटो एक हप्ताभित्र हटाउने सहमति भएको छ । घट्टे खोला क्षेत्रमा भारत तर्फको तटबन्ध निर्माणका लागि नदीको पानी नेपालतर्फ डाइभर्सन गर्न तारजाली भरिरहेको र ४० मिटरभन्दा बढी नदीको डाइभर्सन नेपालतर्फको भइरहेको छ  । डाइभर्सनमाथि निर्माण सामग्री ढुवानी गर्ने गाडी र मेसिनहरु गुड्ने अस्थायी सर्भिस रोड बनाइएको छ । 


भारतीय पक्षले सुरुमा १५ मिटर नदी डाइभर्सन गर्न प्रस्ताव गरेकोमा अहिले ४० मिटरसम्म नदी डाइभर्सन भइसकेको विषयमा दुबै देशका अधिकारीले छलफल गरेका छन् । महाकालीको डाइभर्सन र नदी किनारमा थुप्रिएका ढुंगामाटो हटाउने विषयमा फेरि एकपटक स्थलगत भ्रमण गरी छलफल गरिएको छ र नयाँ सहमति गरिएको छ । तर, महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले एउटा गम्भीर प्राविधिक प्रश्न भारतीय पक्षसंग तेस्र्याएका छन् । भारततर्फको पुलछेउमा निर्माण भइरहेको तटबन्धको पक्की संरचना दुई देशका प्राविधिकबीच भएको पूर्व छलफल, सहमति र डिजाइन विपरित भएको भन्दै आयोजना प्रमुखले सबैको ध्यानाकर्षण गराएका थिए ।

भारतीय पक्षले यसअघि नै उपलब्ध गराएको ड्रइङ र नक्सा देखाउदै आयोजना प्रमुख साहले प्राविधिक मापदण्ड विपरित भारततर्फको पुलछेउमा तल र माथि दुबैतर्फ तटबन्धको संरचना बनाउंदा पुलको एबुटमेन्टलाई समेत ढाकेर बनाएको भन्दै आयोजना प्रमुख साहले नदीको वहाव नेपालतर्फ फर्किने जोखिम बारे समयमै सचेत हुन दुबै देशका अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

कर्भ आकारमा तटबन्धको संरचना बनाइदा नदीको पानी ठोक्किएर नेपालतर्फ फर्किने र जोखिम बढ्ने आयोजना प्रमुख साहको तर्क थियो ।

पुलको तल (दक्षिणतर्फ)को तटबन्ध संरचना पनि नदीको किनारभन्दा धेरै अगाडि सरेर बनाइएको नेपाली पक्षको भनाई छ । भारतले पूर्वजानकारी विपरित र प्राविधिक मापदण्ड विपरित संरचना बनाइएकोमा नेपाली पक्षले प्रश्न उठाएको छ । ‘हेर्दा कसैलाई सामान्य जस्तो देखिन सक्छ तर नदीको वहाव नेपालतर्फ फर्किने जोखिम यो संरचनाले बढाएको छ’ आयोजना प्रमुख साहको भनाई छ । आयोजना प्रमुख साहले भन्नुभयो ‘अब समाधान कसरी हुन्छ, मलाई थाहा छैन, हामी यसबारे माथिल्लो निकायमा पनि जानकारी गराउछौं’ ।

भारतीय तटबन्ध निर्माणबारे सुरुदेखि आवाज उठेकोमा यसबारे केन्द्रस्तर बाटै प्राविधिक सहितको टोली पठाएर छलफल गर्न र समाधान खोज्न आफुले माग गर्दैआएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताएका छन् । तर, प्रजिअ उपाध्यायको मागअनुसार सरकारले केन्द्रबाट अहिलेसम्म टोली पठाएको छैन । जिल्ला प्रशासन कार्यालय मार्फत नै भारतीय पक्षसंग समन्वय गर्न गृह मन्त्रालयले निर्देशन दिंदैआएको छ । 




Advertisement

सम्बन्धित खबर