Tuesday Apr 21, 2026


युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालको एक एकदिवसीय मान्यता पक्का

Image
२८ फागुन २०७९, आइतवार
Avatar
खेलकूद ब्युरो

काठमाडौं–नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई) माथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ । युएईले भने नेपालसँगको हारसँगै सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ । नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।



जितको लागि २ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अल आउट भयो । युएईका आयन खानले ३३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक रन बनाए । यो युएईको ओडिआई इतिहासको सवैभन्दा कम योगफल हो । यसअघि युएईको सबैभन्दा कम योगफल २०१८ मा आयरल्यान्डविरुद्ध विश्वकप छनोटमा ९१ रनमा अल आउट भएको थियो ।


यो नेपालको ओडिआईमा रनको हिसाबमा सर्वाधिक ठूलो जित हो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक रनको जित २०२१ मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा १ सय ५१ रन थियो । नेपालले उक्त कीर्तिमान तोडेको हो ।


स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काएका थिए । यसअघि मध्यक्रममा खेल्ने वृत्यलाई युएईले आज ओपनिङ गराएको थियो । वृत्य सुरुवातमै आउट भए । तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे । पछिल्ला दुई खेलमा अर्धशतक प्रहार गरेका आर्यन पनि शून्यमै पेभेलिएन फर्किएका थिए ।




मोहम्मद वासिम ललितको पाँचौं ओभरको चौथो बलमा कुशल भुर्तेलबाट एक रनमा क्याच आउट भए । सोमपाल कामीले आसिफ खानलाई ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएपछि युएई ८–४ को दयनीय अवस्थामा पुगेको छ । सन्दीपले १४ औं ओभरको चौथो बलमा रोहन मुस्तफालाई ६ रनमा एलबीडब्लू आउट गरेपछि ३४–५ को संकटमा पुगेको थियो । आयन खान, अश्रन्त वल्थपा १४ र जवार फरिद दुई रनमा आउट भएपछि युएई ६२-८ को अवस्थामा पुगेको थियो ।


नेपालको जितमा स्पिनर ललितनारायण राजवंशीले ७.५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए । उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । नेपालबाट पाँच विकेट लिने सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीपछि चौथो बलर बनेका छन् । सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, गुलशन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।


त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।



रोहितले ८३ बलमा ७ चौकासहित ओडिआई करिअरको आठौं अर्धशतक पूरा गरेका थिए । योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । रोहितले ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई पछि पारेका हुन् । ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ओडिआईमा ७–७ अर्धशतक प्रहार गरेका छन् । कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ओडिआईमा ४–४ अर्धशतक प्रहार गरेका थिए ।


पावर प्लेमा नेपालले तीन विकेट गुमाएपछि ब्याटिङमा निकै दबाबमा पर्यो । चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे । अघिल्लो खेलमा पिएनजीविरुद्ध १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका आसिफ युएईविरुद्ध भने पाँच बल खेल्दा खाता खोल्न सकेनन् ।


पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन अफ्जल खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ठूलो सट खेलेका कुशल मल्ल टप एज लागेर मिडअनमा मोहम्मद वासिमबाट ९ रनमा क्याच आउट भए । १५ बल खेलेका उनले २ चौका प्रहार गरे ।



एक समय २२–३ को अवस्थामा पुगेको नेपाललाई नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए ।


मुस्तफाको २२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका भीम लङअनमा कार्तिक मपाप्पनबाट क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । भीमले त्यसअघिको दुई बलमा लगातार दुई चौका हानेका थिए । तेस्रो बाउन्ड्री धुनमा विकेट गुमाउन पुगे ।


एक समय ७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रनमा क्याच आउट भए । रोहन मुस्तफाको बलमा ठूलो सट खेल्नेधुनमा आसिफ खानबाट लङअनमा क्याच आउट भएका थिए ।



गुलशन झा ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । गुलशन जहुर खानको योर्कर बलमा बोल्ड भएका थिए । दीपेन्द्रसिंह ऐरी १९ बलमा ३ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।


युएईका आयन खानले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । जवार फरिदले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । जहुर खानले ८.२ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । आर्यन लाक्रा र जुनैद सिद्दिकले एक एक विकेट लिए ।


नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का बनेको छ । नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । एक खेलमा पराजित भएमा भने नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।



नेपालले सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । यो हारसँगै युएईले सोझै ओडिआई मान्यता प्राप्त गर्ने अवसर गुमाएको छ । युएई अव प्लेअफमा शीर्ष चारमा पर्न सकेमात्रै आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ ।


अंक तालिका


स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।


नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

Advertisement

सम्बन्धित खबर